Wednesday, October 17, 2012

फ्रेन्ड विथ बेनिफिट





समय बिताउन र जीवन रंगीन बनाउन किन साथ चाहियो? सेक्स बड्डी अर्थात् क्याजुअल रिलेसनभन्दा रमाइलो अरू के हुन सक्छ? हिजो आज युवाहरूले माया-प्रेमलाई यसरी नै परिभाषित गर्ने ट्रेन्ड ह्वात्तै बढेको छ। युवापुस्तामा मौलाइरहेको यस्तो सम्बन्धलाई फ्रेन्ड विथ बे निफिट भनिन्छ। छोटकरीमा यसलाई एफडब्लूबी पनि भन्न सकिन्छ। यस्तो सम्बन्ध फाइदाका लागि राखिन्छ। यसका अन्य फाइदा पनि  छन् तर युवापुस्ताले यौनलाई मुख्य रूपमा लिएको पाइन्छ। मिल्ने साथीबीच र बीनायोजना शारीरिक सम्बन्ध स्थापित हुनु नै फ्रेन्ड विथ बे निफिट हो।

कतिपयले यसलाई समय कटाउने साधनका रूपमा पनि लिन्छन्। युवायुवती जो भए पनि जोसँग सम्बन्ध हुन्छ त्यहाँ यौनलाई प्राथमिकतामा  राखिएको हुन्छ। जुन बेला चाहने हो त्यति बेला बोलाउन मिल्छ आफ्ना साथीलाई। जीवनसाथी नभेटिँदासम्म आफ्नो शारीरिक चाहना पूरा  गर्न यस्ता सम्बन्ध स्थापित गरिएका हुन्छन्। यस्तो सम्बन्ध कसरी स्थापित हुन्छ भन्न गार्‍हो छ। योजना मुताविकभन्दा पनि यो आफैं हुन्छ।

विशेषतः अहिले फेसबुक, याहु म्यासेन्जर, इबडी, निम्बज, हाइफाइफ र मिगजस्ता सामाजिक सञ्जालको माध्यमबाट युवायुवतीहरू एक- अर्काको सम्पर्कमा आउने गरेका छन्। यसबाहेक म्युचुअल फ्रेन्डहरूको माध्यमबाट पनि यस्तो सम्बन्ध स्थापित हुने गरेको छ।

पश्चिमी मुलुकका युवापुस्तामा चलेको यस्तो ट्रेन्ड विशेषतः नेपाली किशोर-किशोरीहरूमा पनि विकसित हुन थालेको छ। व्यक्तिगत स्वतन्त्रता  र खुला सोचले पनि यस्तो सम्बन्धमा वृद्धि भएको हो। एक जानकार भन्छन्- पश्चिमा मुलुकका युवामा फैलिएको यस्तो प्रवृत्ति नेपाली युवाले  पनि ठ्याक्कै पछ्याएका छन्। पूरै सुझबुझका साथ यस्तो सम्बन्ध राख्नेहरू समाजमा बढ्दै गएका छन्।

यस्तो चलनमा माया-प्रेम वा दीर्घकालीन सम्बन्ध स्थापित गर्ने सोच हुँदैन। शारीरिक अथवा संवेगको सन्तुष्टिका लागि केही क्षणको आनन्द  मात्र उठाइन्छ। यसमा दुवै पक्षले उस्तै सोच्छन् र सम्बन्ध राख्छन्। यसमा कसैले झन्झट मान्दैनन्।

फ्रेन्ड विथ बेनिफिटका विशेषता

यस्ता मित्र ब्वाइफ्रेन्ड तथा गर्लफ्रेन्ड हुन सक्दैनन्। यस्तो सम्बन्धमा रहने दुवै जना रमाइलो पाराका हुन्छन्। त्यसैले एक जना मात्र खुसी हुँदा  यस्तो सम्बन्ध राम्रो हुँदैन। जो असल माया प्रेमका लागि बनेका हुन्छन् उनीहरूका लागि यस्तो सम्बन्ध राम्रो लाग्दैन। यो विल्कुल फरक  खालको सम्बन्ध हो, त्यसैले यसमा रमाउनेहरू फरक नै हुन्छन्। कुनै बाध्यतामा बाँधिएका पनि हुँदैनन्।

यस्तो सम्बन्धमा रहनेहरू सार्वजनिक स्थानमा सँगै हिँड्नुभन्दा पनि एसएमएसबाटै आफूले माया पाएको अनुभूति गर्छन्। यस्ता मित्रले  पारिवारिक, व्यक्तिगत र मनका कुरा साट्दैनन्। भरसक आफ्नो बाहिरी रवाफ नै प्रस्तुत गर्छन्। सँगै हिंडदैनन्, साथै एक-अर्कामा मायाको  भाव जनाउने निकनेम पनि साटासाट गरेका हुँदैनन्। यस्तो सम्बन्ध व्यक्तिमा भर पर्छ। यदि दुवै जनाको चाहना र आकर्षण कायम रहे यो  सम्बन्धको सीमा पनि हुंदैन।

यस्तो सम्बन्ध यौन तिर्खामा भर पर्छ भने एक-अर्काबाट कुनै पनि किसिमको अपेक्षा गरिएको हुँदैन। एक-आपसमा सम्बन्ध कायम रहे पनि  अरूसँग विवाह गर्नेदेखि घुम्ने, डुल्ने कामका लागि उनीहरू पूर्ण स्वतन्त्र हुन्छन्। नियमित सम्पर्क र चिनजानबीच यस्तो सम्बन्धले स्थापित  हुने अवसर प्राप्त गर्छ। यसमा कुनै मायामा जस्तो उपहार आदान-प्रदान गरिँदैन।

एक-अर्कामा जिस्किने र एक-अर्कामा मिल्ने बानीबेहोराले उनीहरूमा आकर्षण बढाउँछ। यसको अर्थ सम्बन्ध एकदमै क्याजुअल हुन्छ। यसमा  चोखो माया-प्रेमको कुनै अर्थ हुँदैन। न त पैसा खर्च न त समयको बर्बादी मानिन्छ। यस्तो सम्बन्धमा दुवै एउटै उद्देश्यका लागि राजीखुसी  हुन्छन्। त्यसैले पनि हिजोआजका खुला सोच राख्ने युवाहरूमा यस्तो प्रवृत्ति बढ्दो छ। उमेर पुगेका जिज्ञासु युवामा यस्तो सम्बन्ध हुने  सम्भावना बढी हुन्छ। जीवनलाई रमाइलो मान्ने र यौनलाई मनोरञ्जनको साधन भन्नेहरू नै यस्तो प्रवृत्तिमा लागेका हुन्छन्।

दीर्घकालीन बेफाइदा

यसमा कसैको खुसी र भावनाका लागि सोच्ने फुर्सद हुँदैन। यसमा कसैसँग महत्त्वपूर्ण रूपमा प्रत्येक दिन वा प्रत्येक साता नजिकको  भावनात्मक सम्बन्ध नै स्थापित गरिरहनु पर्दैन। न त वैवाहिक जिन्दगीमा जस्तै एनीभर्सरीको ख्याल गर्नु आवश्यक मानिन्छ। मात्र फोन गरेर  बोलाउने र रमाइलो गर्न कहाँ जाने उनीहरूको चाहनामा भर पर्छ।

क्षणिक फाइदा भए पनि यसका खराब पक्ष धेरै छन्। कतिपय आफू क्याजुअल रिलेसनमा वा फ्रेन्ड विथ बेनिफिटमा छु भन्ने जान्दाजान्दै पनि  ठूलो काम मानेर हरबखत त्यसमै चिन्तित हुने गरेका छन्, जसका कारण जीवनमा प्रगतिभन्दा पनि आफूलाई यसमा डुबाएर आफ्नो भविष्य  डुबाइरहेका छन्।

जीवनमा धेरै अवसर पनि प्राप्त हुन्छन्। यसरी यस्तो सम्बन्धको फाइदा लिँदालिँदै बेला जटिल मोड पनि आउन सक्छ। असावधानी एवं अवैध  यौनसम्पर्कले खटपटसँगै ठूलो दुर्घटना हुने खतरा पनि उत्तीकै हुन्छ। अपरिपक्वताका कारण यदि युवतीको गर्भ रहन गए त्यस्तो अवस्था सिजर् ना हुन सक्छ। यस्तो अवस्थामा के गर्ने उनीहरू ठूलो चिन्तामा पर्छन्। यसमा यौनरोग सर्ने सम्भावना पनि उत्तीकै हुन्छ। स्वतन्त्रता चाहने  उनीहरू यौन सन्तुष्टिको मात्र भागीदार हुन चाहने खालका हुनाले गर्भ र यौनले हुर्काएको बढ्दो असमझदारीले हत्या वा आत्महत्यासम्म  पुर्‍याउन सक्छ। वास्तवमा यस्तो सम्बन्धमा उनीहरू आफूलाई पूर्ण स्वतन्त्रतामा राख्न चाहन्छन् र यस्तो समस्यामा फस्न चाहँदैनन्।

यस्तो सम्बन्ध स्थापित गर्दा उनीहरूले क्षणिक मनोरञ्जन प्राप्त गरे पनि त्यसको असर दीर्घकालीन हुन्छ। उमेर परिपक्व नभैसकेका कारण  पनि उनीहरूमा नकारात्मक प्रभाव एवं सामाजिक मूल्य-मान्यतामा प्रत्यक्ष असर पर्न सक्छ। यसले गर्दा सांस्कृतिक मूल्य-मान्यतामा पनि  प्रत्यक्ष असर पुग्छ। त्यसैले क्षणिक रमाइलो मानिए पनि यो एक किसिमको विकृति नै हो।

यसबाहेक आफूले फ्रेन्डविथ बेनिफिट सम्बन्ध राखे पनि एक-अर्कामा अनौठो खालको आकर्षणका कारण उनीहरू कुनै तेस्रो व्यक्ति आफूबीच  भएको देखिसहँदैनन्। यौनसाथीका लागि त्यो नै झगडा गर्ने बहाना हुन्छ। यस्ता कारणले पनि कतिपय ठाउँमा दुःखद परिणाम ल्याउनसक्छ।

जीवनसाथीमा रूपान्तरण

दिनेश र बीनाको चिनजान भएको छ महिना भैसकेको छ। उनीहरूबीच धेरैपल्ट सहमतिमा यौनसम्बन्ध स्थापित भएको छ। एक दिन जीवनले  बसमा सँगै भएकी बीनालाई गाडीबाट ओर्लने क्रममा उनको औलामा स्नेहपूर्वक चुमे। त्यो देखेर बीना केही लजाइन्, तर उनको मुखबाट  अनायासै फुत्कियो— म पनि निकै पहिलेदेखि यही चाहन्थें। भर्खरै साहस बटुलेका जीवनले अर्को साता बीनालाई प्रपोज नै गरे। अहिले उनी  भन्छन्— मित्रताले मलाई मायामा डुबाएको छ।

यस्तो सम्बन्ध एक-अर्कामा कुरा साट्ने माध्यम पनि बनिदिन्छ। त्यसैले कसैले यसलाई जीवनसाथी खोज्ने माध्यमका रूपमा पनि बुझेका  हुन्छन्। नजिकको सम्बन्ध स्थापित गरिदिने र नियमित भेटघाटले उनीहरूमा एक खालको माया-प्रीतिको भावना पनि जगाइदिन्छ। त्यसैले  यस्तो सम्बन्ध राख्ने कतिपयले आफूहरूलाई जीवनसाथीमा पनि रूपान्तरण गर्छन्।

सम्बन्धको प्रक्रिया लामो र छोटो खालको हुन्छ। लामो प्रक्रियामा जानुको परिणाम यस्तो सम्बन्धमा रहेकाहरू वैवाहिक जीवनमा बाँधीनु हो।

कसरी बच्ने?

सबैभन्दा राम्रो यस्तो संस्कृतिमा आफूलाई सहभागी नगराउनु नै हो। यदि भैहाले पनि त्यसको सीमाभन्दा अघि बढ्नु हुँदैन। आफ्नो मित्र  आफूप्रति आकषिर्त भए पनि उसलाई सम्झाउनु उपयुक्त हुन्छ। यदि शारीरिक सम्बन्धबाहेक अन्य कुनै कुरा मन नपरे उसलाई भुल्नुको  विकल्प छैन। भरसक आफ्नो मित्रतामा कुनै चोट नपुग्ने गरी बिस्तारै टाढा हुनुपर्छ।

पहिलेको जस्तो बाक्लो भेटघाटलाई पातलो बनाउँदै जानुपर्छ। कुनै पनि कुरालाई सम्झनामा राख्नुभन्दा कम्प्युटरलाई फर्मेट गरेझैं सबै कुरा  बिर्सिदिनुपर्छ। यो सम्पर्कबाट टाढिनुपर्छ। भरसक कहीं भेट भैहाले पनि टाढिनु राम्रो हुन्छ। भरसक उसले बुझ्ने गरी सम्झाएर एक-अर्कासँग  टाढिनु उपयुक्त हुन्छ। यसबाहेक जीवनसाथीका रूपमा एक-अर्कामा समाहित हुनु पनि अर्को सुखद पाटो हो। दीर्घकालिन मित्रता राख्नु पनि  यस्तो सम्बन्धको बलियो आधार हो। कहिल्यै माया नगर्नुभन्दा पनि मायामा डुब्नु, एक-अर्कामा भावना साट्नु, एकअर्कामा भएका कमी  कमजोरी साट्नु, आफ्नो जीवनका खुसीका साथ रहनु यस्तो सम्बन्धको विशेषता हो। जीवनसाथीमा रूपान्तरण गर्दा भने आफ्नो साथीका  कतिपय खराब पक्षलाई बुझी आत्मसात् गर्ने साहस भने बटुल्नै पर्छ। @ekantipur/saptahik

No comments:

Post a Comment