Tuesday, October 16, 2012

नेपाल मा पनि लिभ इन टुगेदर

जहाँ महिला र पुरुष सँगै बस्छन् र जुन सम्बन्धले धार्मिक, सामाजिक एवं कानुनी रूपले मान्यता पाएको हुँदैन, त्यस्तो सम्बन्धलाई नै लिव  इन टुगेदरको सम्बन्ध मानिन्छ। यस्तो सम्बन्धमा महिला र पुरुष शारीरिक एवं आत्मीय सम्बन्ध गाँसेर सँगै बस्छन्। लिव इन टुगेदर वर्तमान  अवस्थामा विदेशी मुलुक हुँदै नेपाल भित्रिएको छ। यो सम्बन्धले समाजमा मान्यता त पाएको छैन तर पनि महिला-पुरुष यसरी बस्ने क्रम बढ्दो छ ।

अध्ययन एवं रोजगारीको सिलसिलामा  बिदेसिएका नेपालीहरू हुँदै यो विदेशी संस्कृति नेपाल आएको हो। बिदेसिएका वा एक्ला मानिसहरू  आफूलाई सुहाउने पार्टनरसँग आफ्नो कुरा सेयर गर्न साथी खोज्न थाल्छन् फलस्वरूप लिव इन टुगेदर सम्बन्ध स्थापित हुन्छ।

विभिन्न अध्ययनअनुसार एकल महिला र पुरुषबीच पनि यस्तो सम्बन्ध देखिएको छ । धेरैजसो अविवाहित पुरुष र विवाहित महिला, विवाहित  महिला र अविवाहित पुरुष हुँदै अविवाहित युवायुवतीहरूबीच पनि यस्तो सम्बन्धले प्रश्रय पाइरहेको छ। उनीहरूमध्ये पनि सहर-बजार र विदे शमा रोजगारीको खोजीमा पुगेका एकल व्यक्तिहरूमा यस्तो सम्बन्ध बढी नै देखिन्छ।

अहिले मात्र होइन पौराणिक कालमा पनि महिला-पुरुष विवाह नै नगरी सँगै बस्ने प्रचलन थियो, जसलाई गन्धर्व विवाहका रूपमा लिइन्थ्यो।  महिला-पुरुष लुकिछिपी बस्ने चलनलाई पौराणिक कालमा पनि अपराध मानिँदैनथ्यो। अहिले पनि महिला र पुरुषबीच यस्तो सम्बन्ध कायमै छ  तर समाजमा भने अझ सजिलै बाहिर आउन सकेको छैन र लिभ इन टुगेदरलाई कुनै पनि कानुनले अपराध मानेको छैन। कानुनले पनि यो  सम्बन्धलाई रोक्न सक्दैन।  

नेपाली समाजमा महिला र पुरुष विवाहअघि सँगै बस्ने चलनलाई राम्रो मानिँदैन। महिला-पुरुष सँगै बस्ने कुरालाई समाजले सहज रूपमा  स्वीकार नगर्ने हुनाले समाजमा यो खुल्ला छैन। यस्तो सम्बन्धलाई समाजले सजिलै नपचाउने हुनाले लुकाउने प्रयास गरिन्छ। यस्तो सम्बन्धले  समाजमा समस्या पनि उब्जाउँछ। तिनीहरूको सम्बन्धबाट जन्मिएका शिशुको भविष्य कस्तो हुने हो भन्ने समस्या र ती शिशुलाई आमाबाबु  कसले पाल्ने भन्ने कुराले पनि समस्याको रूप लिन्छ। हाल यो सम्बन्धले समाजमा थुप्रै समस्या खडा गरिरहेको छ जसका कारण शिशुको  भविष्यका लागि न्याय खोज्ने क्रममा महिला आयोगमा थुप्रै उजुरी परेको कुरा सार्वजनिक भैसकेको छ।

नेपालको सन्दर्भमा लिव इन टुगेदरमा अशिक्षितभन्दा शिक्षित नै बढी देखिन्छन्। यस्तो समस्याको समाधान गर्ने क्रममा महिला आयोगले गरे को अध्ययनअनुसार हिन्दू, बौद्ध, इसाई, दलित, जनजाति, बाहुन क्षेत्रीजस्ता सबै समुदाय तथा जातजातिका परिवारभित्र यस्तो सम्बन्ध देखिन्छ।  यसरी रहेको सम्बन्धबाट महिला र पुरुष दुवैलाई कुनै न कुनै समस्या उत्पन्न भएका कारण यो सम्बन्ध बाहिर आउने तथा विवाद उत्पन्न  हुने क्रम बढ्दो छ, यस्तो सम्बन्धबाट बढी समस्या महिलालाई परेको देखिन्छ। यस्तो सम्बन्ध गाँसेर बसेका महिला-पुरुष आपसी सहमतिमा  आफ्नो घरपरिवारबाट लुकिछिपी बस्ने हुनाले सामान्य रूपमा बाहिर देखिँदैनन्, तर त्यो सम्बन्धबाट उब्जिएको समस्याको कारण नै आज  विस्तारै लिव इन टुगेदर समाजमा बाहिर आउँदैछ। नेपालको कानुनमा यस्तो सम्बन्धबाट उब्जने समस्यालाई समुचित रूपमा सम्बोधन पनि  गरिएको छैन। @ekantipur/saptahik

No comments:

Post a Comment